जसले दिए एकै वर्षमा हिट र फ्लप फिल्म

मनोरन्जन

काठमाडाैं । बलिउडमा अनेक हुने गर्दछ । एउटै हिरोको एउटा फिल्म सुपरहिट हुन्छ र अर्काे फ्लप । एकै वर्षमा हिट र फ्लप दुवै फिल्म दिएका स्टार थुप्रै छन् बलिउडमा । सलमान खान, शाहरुख खान, आमिर खान मात्रै होइनन्, अक्षयकुमार र अजय देवगणजस्ता स्टारले पनि एकै वर्षमा हिट र फ्लप फिल्म दिएका छन् । भारतीय अनलाइनले यसबारे एउटा रिपोर्ट तयार गरेको छ ।

आमिर खान
आमिर खानले सन् १९९५ मा एउटा सुपरहिट र अर्काे फ्लप फिल्म दिए । सो वर्ष प्रदर्शनमा आएको उनको रंगिला फिल्म सुपरहिट भएको थियो भने अकेले हम अकेले तुम फ्लप भएको थियो । रामगोपाल वर्माको निर्देशनमा बनेको रंगिलामा आमिरका साथमा उर्मिला मातोन्डकर र ज्याकी श्राफ मूख्य भूमिकामा थिए । मनसुर खान निर्देशित अकेले हम अकेले तुममा आमिरका साथमा मनीषा कोइराला मुख्य भूमिकामा थिइन् ।

ऋत्विक रोशन
ऋत्विकका सन् २००१ मा दुई फिल्म यादे र कभी खुसी कभी गम रिलिज भएका थिए । जसमा करण जौहर निर्देशित कभी खुसी कभी गम हिट भएको थियो भने सुभास घई निर्देशित यादे फ्लप भएको थियो । कभी खुसी कभी गममा ऋत्विकका साथमा शाहरुख खान, अमिताभ बच्चन, करिना कपुरलगायत थिए । यादेमा भने ज्याकी श्राफ, अमरीश पुरी र करिना कपुर मुख्य भूमिकामा थिए ।

सलमान खान
सलमानले सन् २००९ मा एउटा हिट र अर्काे फ्लप फिल्म दिए । सो वर्ष उनको लन्डन ड्रिम्स र वान्टेड प्रदर्शन भएका थिए । प्रभु देवा निर्देशित वान्टेड सुपरहिट भएको थियो भने विपुल शाह निर्देशित लन्डन ड्रिम्स फ्लप भएको थियो । वान्टेडमा सलमानका साथमा आयशा टाकिया र प्रकाशराज मुख्य भूमिकामा छन् भने लन्डन ड्रिम्समा उनका साथमा अजय देवगण र असिन मुख्य छन् ।

अक्षयकुमार
सन् २०१२ मा प्रदर्शन भएको अक्षयकुमारको जोकर सुपरफ्लप भयो । तर, सोही वर्ष आएको कमेडी फिल्म हाउसफुल २ भने हिट भयो । उदय कुन्ती निर्देशित जोकरमा अक्षयका साथमा सोनाक्षी सिन्हा, मिनिषा लम्बालगायतले अभिनय गरेका थिए । साजिद खानले निर्देशन गरेको हाउसफुल २ मा अक्षयका साथमा रितेश देशमुख, असिन, जोन अब्राहम, ज्याक्लिन फर्नान्डिस, जरिन खानलगायतले अभिनय गरेका छन् ।

अजय देवगण
सन् २०१४ मा प्रदर्शन भएका अजयका सिंघम रिटन्र्स र एक्सन ज्याक्सनमध्ये सिंघम रिटन्र्स सुपरहिट फिल्म हो । एक्सन ज्याक्सन फ्लप भएको थियो । रोहित सेट्टी निर्देशित सिंघम रिटन्र्समा अजयका साथमा करिना कपुर मुख्य भूमिकामा छिन् । प्रभु देवा निर्देशित एक्सन ज्याक्सनमा अजयका साथमा सोनाक्षी सिन्हा, यामी गौतमलगायतले अभिनय गरेका छन् ।

शाहरुख खान
सन् २०१७ मा शाहरुखका दुई फिल्म रिलिज भए । रइस र जब ह्यारी मेट सेजल । राहुल ढोलकिया निर्देशित रइस हिट भएको थियो भने इम्तियाज अली निर्देशित जब ह्यारी मेट सेजल फ्लप भयो । रइसमा शाहरुखका साथमा माहिरा खान र नबाजुद्दिन सिद्धिकी मुख्य भूमिकामा छन् । जब ह्यारी मेट सेजलमा भने शाहरुखका साथमा अनुष्का शर्मा छिन् । -एजेन्सीकाे सहयाेगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *