काठमाडौं । सातवटै प्रदेशका प्रमुखहरुले पदभार सम्हालेसँगै प्रदेशसभा सदस्यहरुले पनि शपथ ग्रहण गरिसकेका छन् । यससँगै अब प्रदेश सरकार गठनका लागि बाटो खुलेको छ ।
‘नेपालको संविधान २०७२को धारा १६८ ले प्रदेश प्रमुखलाई बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने अधिकार दिएको छ ।
हेर्नुहोस्, संविधानको धारा १६८ को उपधारा १-
प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्नेछन् । जुन कुरा संविधानको धारा १६८ को उपधारा २ मा उल्लेख छ ।
प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त हुन नसकेमा प्रदेश प्रमुखले सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछन् । यसरी नियुक्त हुने मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था धारा १६८ कै उपधारा ४ मा उल्लेख छ ।
निर्वाचन आयोगले प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम गत बुधबार सार्वजनिक गरेको थियो । त्यसको ३० दिन अर्थात् अबको २६ दिनभित्र मुख्यमन्त्री नियुक्त भइसक्नेछन् । त्यसपछि मुख्यमन्त्रीले कुल सदस्यको २० प्रतिशतभन्दा नबढ्ने गरी मन्त्रिपरिषद् गठन गर्नसक्ने व्यवस्था संविधानमा छ ।
कहिले बस्छ प्रदेश बैठक
प्रदेश सभाको पहिलो बैठक निर्वाचन परिणाम आएको २० दिनभित्र बोलाउनुपर्ने संवैधानिक प्रावधान छ । प्रदेश सभाको बैठक प्रदेश प्रमुखले डाक्नेछन् । नेपालको संविधानको धारा १८२ मा प्रदेश सभाको सभामुख र उपसभामुखसम्बन्धी व्यवस्था छ ।
प्रदेश सभाको सभामुख र उपसभामुख आइतवार सपथ लिएका सांसदबाटै निर्वाचित गरिन्छ । प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिन भित्र प्रदेश सभाका सदस्यले आफू मध्येबाट प्रदेश सभामुख र उपसभामुखको निर्वाचन गर्ने संवैधानिक व्यवस्था छ ।
संविधानको धारा १६८ अनुसार प्रदेश प्रमुखले प्रदेशसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न सक्ने प्रावधान छ । प्रदेश सभामा कुनै दलको बहुमत नआए दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत ल्याउने सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्नेछन् ।