माओवादीबाट को-को बन्लान् मुख्यमन्त्री ? यी हुन् आकांक्षी

मुख्य समाचार

काठमाडाैं । नेकपा एमालेसंग प्रदेशको मुख्यमन्त्री र सभामुख पदको भागबण्डामा सहमति भएपछि माओवादीभित्र मुख्यमन्त्री र सभामुखका आकांक्षीले लबिङ तीव्र बनाएका छन् ।

माओवादीले प्रदेश नम्बर ४ र ५ को सभामुख तथा प्रदेश नम्बर ६ र ७ को मुख्यमन्त्री पाउने गरी एमालेसँग सहमति गरिसकेको छ । प्रदेश नम्बर ६ मा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्यद्वय नरेश भण्डारी र महेन्द्रबहादुर शाही मुख्यमन्त्रीका प्रबल दाबेदार हुन् । जुम्लाका भण्डारी माओवादी निकट बुद्धिजीवि संगठनका अध्यक्ष एवम् पूर्वसांसद् हुन् भने शाही पूर्वमन्त्री हुन् ।

शाहीले यसअघि विभिन्न कार्यक्रममा आफू मुख्यमन्त्रीकै लागि प्रदेशसभामा निर्वाचन लडेको बताउँदै आउनुभएको छ । २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा उनी कालीकोटबाट विजयी हुनुभएको थियो । माओवादी सेनाको पूर्व लडाकु कमान्डरसमेत रहेका शाही पार्टी नेता जनार्दन शर्माका विश्वास पात्र मानिनुहुन्छ ।

यस्तै, भण्डारीले पनि आफू मुख्यमन्त्रीको दाबेदार भएको बताउँदै आउनुभएको छ । उहाँ कर्णाली क्षेत्रका चर्चित नेता हुनुहुन्छ । पार्टी निकट बुद्धिजीवी संगठनका अध्यक्षसमेत रहेका भण्डारी २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा जुम्लाबाट निर्वाचित हुनुभएको थियो ।

प्रदेश नम्बर ७ को मुख्यमन्त्री पनि माओवादीकै भागमा परेको छ । माओवादीबाट वीरमान चौधरी, झपटबहादुर बोहरा र अक्कलबहादुर रावलको नाम चर्चामा छ । यसमध्ये थारु समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न चौधरीको सम्भावना प्रबल रहेको स्रोतको दाबी छ ।

तर, प्रदेशको राजधानी धनगढीमा राखिएपछि पहाडी क्षेत्रको सन्तुलन मिलाउन मुख्यमन्त्रीमा हेरफेर हुनसक्ने माओवादी स्रोतले बतायो । एक–दुइ दिनभित्रै मुख्यमन्त्रीको टुंगो लगाउने माओवादीको तयारी छ ।

Leave a Reply

Your email address will not be published.