को बन्ला मुख्यमन्त्री ?

पत्रपत्रिका

काठमाडौं । प्रदेश २ बाहेक सबैमा सरकार गठनको तयारीमा रहेको वाम गठबन्धनभित्र मुख्यमन्त्रीका दाबेदारहरूको दौडधुप बढेको छ। फागुन पहिलो साताभित्र सातै प्रदेशमा मुख्यमन्त्री चयन गरिसक्नुपर्ने भएकाले आकांक्षीहरूले राजधानीमा दौडधुप बढाएका हुन्।

आकांक्षीमध्ये केहीले काठमाडौंमा पार्टीका शीर्ष नेतामाथि ‘दबाब’ बढाउन थालेका छन् भने केहीचाहिँ नेताहरूसँग एकचरण भेटघाट सकेर प्रदेश फर्केका छन्।

शीर्ष नेताहरूले भने एमाले–माओवादीबीच भागबन्डा मिलिनसकेकाले नहतारिन सल्लाह दिँदै फर्काइरहेका छन्। ‘विषयमा प्रवेश गरी छलफल नै भइसकेको छैन, राष्ट्रियसभा चुनावको उम्मेदवार मनोनयन सकिएकाले अब बल्ल कार्यदलले समग्रमा भागबन्डा मिलाउँछ’, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले भन्यो, ‘संस्थागत छलफल भइसकेको छैन तर आकांक्षीहरू भने विषय ‘रिफ्रेस’ गराउन भन्दै धाउन थाल्नुभएको छ।’

एमाले–माओवादीबीच ४/२ को भागबन्डामा सहमति भए प्रदेश १, ३, ४ र ५ मा एमाले तथा ६ र ७ मा माओवादीले मुख्यमन्त्री पाउनेछ। माओवादीले पाउने चर्चा चलेको प्रदेश ७ का आकांक्षी वीरमान चौधरी र झपट बोहोरा काठमाडौंमा एकचरण छलफल गरी फर्केका छन्।

प्रदेश ६ का आकांक्षीमध्ये नरेश भण्डारी काठमाडौंमै छन् भने महेन्द्रबहादुर शाही बिहीबार प्रदेशमा निर्वाचित भएपछि दोहो¥याएर काठमाडौं आउँदै छन्। प्रदेश ६ मा एमालेले पनि आफ्नो दाबी छाडेको छैन।

एमालेको प्रदेश संसदीय दलले निर्णय नै गरेर मुख्यमन्त्री नछाड्न नेतृत्वलाई दबाब दिइसकेको छ। एमालेबाट यामलाल कँडेल र प्रकाश ज्वाला मुख्यमन्त्रीको दाबेदार छन्।आजको अन्न्पूर्णमा खबर छ ।

Leave a Reply

Your email address will not be published.