चार युवालाई मातृभाषा सेवा पुरस्कार

मुख्य समाचार

लिभु संवाददाता

काठमाडौं– यो वर्षको ‘मातृभाषा सेवा पुरस्कार’ चार जना मातृभाषी युवा स्रष्टालाई प्रदान गरिएको छ । १९औं अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले उक्त पुरस्कार प्रदान गरेको हो ।


पुरस्कृत हुनेमा भोजपुरका बान्तावा भाषाका कवि निराजन राई ‘बतास’, नवलपरासीका मगर भाषाकी कवि हेमा आलेमगर ‘बोगी’, खोटाङका चाम्लिङ भाषाका कवि तिलक चाम्लिङ र मोरङका ताजपुरिया भाषाका कवि तेजेन्द्र ताजपुरिया हुनुहुन्छ ।

पुरस्कारको राशि जनही ३० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । बुधबार ललितपुरको सानेपास्थित प्रतिष्ठान हातामा आयोजित समारोहमा प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङले उक्त पुरस्कार प्रदान गर्नु भएको हो । स्थगित भएको तीन वर्षपछि उक्त पुरस्कार प्रदान गरिएको हो ।

समारोहमा युवा भाषाशास्त्री डा. तारामणि राईले ‘मातृभाषा प्रयोग र विस्तार’ विषयक प्रवचन प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी प्रतिष्ठानका सदस्यसचिव गोविन्दलाल माझी, पूर्वसदस्यसचिव तथा साहित्यकार लोकबहादुर थापामगर, आदिवासी जनजाति महासंघका उपाध्यक्ष लोकबहादुर दुरा, संयुक्त राष्ट्रसंघ स्थायी समिति सदस्य फुलमान चौधरीलगायतले मातृभाषा दिवसको बारेमा विचार व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.