
माघ २१, २०७४
काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आगामी २०७४ चैतमा हुने ७ जना प्रथम महिला पत्रकार सगरमाथा आरोहीहरुलाई सम्मान सहित शुभकामना दिएको छ । आइतबार अनामनगरस्थित फोनिज केन्द्रीय कार्यलयमा सम्मान गरी शुभकामना प्रदान गरेको हो ।
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण तयारी जुटेका किरात राई पत्रकार देउराली चाम्लिङ, न्यूज २४ की प्रियालक्ष्मी कार्की, राससकी रोशा बस्नेत, मेघा टेलिभिजनकी कल्पना महर्जन, नेपाल टेलिभिजनकी रोजिता बुद्घाचार्य, इन्डिजिनिस टेलिभिजनकी डोमा शेर्पा र कारोबार दैनिककी फोटोपत्रकार पूर्णिमा श्रेष्ठ छन् । पूर्वतयारीको क्रममा उनीहरु नेपालको विभिन्न हिमालको परीक्षण आरोहण गरिसकेको छन् ।
आरोही पत्रकारहरुलाई फोनिजका पूर्वअध्यक्ष मोहनसिंह लामाले सात ओटा बत्ती बालेर शुभकामना कार्यक्रमको उद्घाटन गरिएको थियो । फोनिजको अध्यक्ष डण्ड गुरुङले शुभकामना दिदै नेपाली पत्रकारिता क्षेत्रका पुरुषले हिम्मत गर्न नसकेको काम महिला पत्रकारहरुले सक्रियता देखाएको बताउनु भयो । त्यसैगरी फोनिजका महासचिव गजुरधन राईले शुभकामना दिदै सगरमाथा शिखरमा पुगेर नेपाली पत्रकारिता क्षेत्रमा महिला पत्रकारले उत्साह र साहस थप्ने बताउनु भयो ।
सगरमाथा ओरोहीका डोमा शेर्पाले पत्रकारिता चुनौतीपूर्ण विषय भएको उल्लेख गर्दै महिला सशक्तिकरण, पर्यटन प्रवद्र्धन र जनचेतना मुख्य उद्देश्य लिएको बताउनु भयो । आफू पहिलो शेर्पा महिला पत्रकारका रुपमा सर्वोच्च शिखर चुम्न लागेको उल्लेख गर्दै आफ्नो सफलतापछि फोनिजमा पहिलो शेर्पा महिला पत्रकारिता पुरस्कार अक्षय कोष स्थापना गर्ने प्रतिबद्ता व्यक्त गर्नुभयो ।
तस्बिरः फोनिज केन्द्र

                            



