ओली-दाहालबीचको वार्ता सकियो, अझै जुटेन सहमति

मुख्य समाचार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको ‘वान टु वान’ वार्ता सकिएको छ ।

एमाले अध्यक्ष ओली दाहाललाई भेट्न उहाँको निवास खुमलटारमा बिहान पुग्नुभएको थियो । त्यहाँ दुई नेताहरुबीच ‘वान टु वान’ वार्ता भएको थियो । दुई नेताबीचको वार्ता केहीबेर अघि सकिएकाले दुई दलीय कार्यदलको बैठक भने अपरान्ह ३ बजेलाई सारिएको छ ।

यसअघिका सबै बैठक ओली निवासमा बस्ने गरेको थियो । तर, यो पटक भने ओ‌ली आफैँ दाहाल निवास खुमलटार पुग्नुभएको हो । ११ बजेका लागि डाकिएको बैठक नेताहरुको व्यवस्तताका कारण अपरान्ह ३ बजेका लागि सारिएको एमाले नेता तथा कार्यदलका सदस्य सुवास नेम्वाङले जानकारी दिनुभयो ।

अझै जुटेन सहमति
दुई नेताबीच कार्यभार बाँडफाँटमै कुरा नमिलेको स्रोतको भनाइ छ । माओवादी दुई पार्टीबीच सम्मानजनक एकताको पक्षमा देखिन्छ । उसका धेरै नेताहरु एमालेसँगको एकताको अर्थ माओवादीको बिलयका रुपमा बुझ्न नहुने बताउँछन् ।

ओली प्रधानमन्त्रीसँगै पार्टी अध्यक्षको जिम्मेवारी कम्तिमा पनि नयाँ महाधिवेशनसम्म अरुलाई हस्तान्तरण गर्ने पक्षमा देखिएका छैनन् । अर्कातिर दाहाल नयाँ पार्टीमा कार्यकारी अधिकारसहितकोे स्थानको खोजीमा छन् । दुवै नेताले प्रदेशका मुख्ममन्त्रीसहितका प्राविधिक पदमा करिब सहमति जुटाएपनि एकीकृत पार्टीको नेतृत्वबारेमा नै कुरा नमिलेको हो ।  दाहाल कम्तिमा पनि नयाँ पार्टीको नेतृत्व लिने गरी एकताको मुडमा देखिएका छन् । उहाँलाई दोस्रो तहका नेताहरुबाट पनि त्यही दबाब परिरहेको स्रोतको दाबी छ ।

हिजो बेलुका दुई अध्यक्षबीच भएको ‘गोप्य वार्ता’ पनि एक–अर्कालाई मनाउने रणनीतिका कारण निष्कर्षमा पुग्न सकेको थिएन । आज बिहान खुमलटारमा भएको वार्तामा पनि दुई नेताबीच निचोड ननिस्केपछि कार्यदल बैठक सरेको हो । दुई नेताबीच पदीय भागवण्डामा कुरो नमिलेकै कारण एकता प्रक्रिया टुंगोमा नपुगेको बताइन्छ ।

दुई नेताले पार्टीको सांगठानिक संरचना र वैचारिक कार्यदिशा तय गर्ने जिम्मेवारी दुई दलका दोस्रो तहका नेता सम्मिलित कार्यदललाई दिएका छन् । कार्यदलले मुख्यमन्त्रीको छनोट तथा प्रदेश सरकारको खाका पनि बनाइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *