मेरो हरेक पाइला विकासको बाटोमा ः प्रम ओली

राजनीति समाचार

लिभु संवाददाता

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हरेक पाइला विकासको बाटोमा हुने बताउनुभएको छ । आज काठमाडौंको दहचोकमा पर्यटन उत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारको मुल प्राथमिकता नै समृद्धि र विकास भएकोले आफू हर तरहले जनतालाई यो उपलब्धीको अनुभुती गराउन प्रयत्नशिल रहने बताउनुभएको छ ।

‘मेरो हरेक पाइला विकासका लागि र विकासको बाटोमा हुनेछ’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अब विकासका लागि हरेक जमिनको टुक्रा र हरेक थोपा पानीको पनि उपयोग हुन्छ ।’

प्रधानमन्त्री ओलीले नेपालको ऐतिहासिक महत्वका किल्ला र गढीहरुको संरक्षण र पुनःनिर्माणको जिम्मा नेपाली सेनालाई दिने बताउनुभएको छ । ‘युद्धसँग जोडिएका ती किल्लाहरुको महत्व, अपनत्व, ऐतिहासिकता, दुःखकष्टसँग सेना जोडिएको हुन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यस कामका लागि सरकारको पूर्ण सहयोग हुन्छ तर त्यसको अगुवाइ सेनाले गर्छ ।’

दहचोकमै रहेको नेपाल एकिकरणका एक सारथी कालु पाण्डेको समाधिस्थलमा माल्यापर्ण गरेपछि महोत्सवको उद्घाटन गर्न पुग्नु भएका ओलीले नेपाल एकिकरणसँग जोडिएको यस ठाउँलाई ऐतिहासिक र पर्यटकीय स्थलको रुपमा समेत विकास गर्नु पर्ने बताउनुभएको छ । गत वर्षदेखि हरेक फागुन ९ गते कालु पाण्डेको समाधिस्थल पुग्ने प्रतिवद्धता गर्नु भएका प्रधानमन्त्री ओलीले आगामी वर्ष आउँदा विकासमा यस ठाउँले फड्को मार्ने दावी गर्नु भएको छ ।

तस्विर सौजन्य ः प्रधानमन्त्रीको सचिवालय

Leave a Reply

Your email address will not be published.