विश्व धुम्रपान रहित दिवस २०७५
लिभु संवाददाता
काठमाडौ– क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले सुर्तीजन्य पदार्थ रोकथामको लागि नागरिक स्तरबाटै जनचेतनामूलक कार्यक्रममा जोड दिनुपर्ने बताउनु भएको छ ।
कडरियाले सुर्तीजन्य पदार्थको कारण दिनप्रति दिन मानिसहरु विभिन्न किसिमका रोगबाट प्रभावित भएकोले यस विषयमा गम्भिर भएर सोच्न सम्बन्धित निकायले ढिलाई गर्न नहुने धारणा राख्नुभयो । कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावक लगायतको सहभागिता रहेको थियो ।
क्यान्सर काउन्सिल नेपालको आयोजना र माछापुच्छ्रे बैंकको प्रायोजनमा काठमाडौंको इपीएस स्कूल मिनभवनमा सञ्चालित जनचेतनामूलक कार्यक्रममा बीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्रा. डा. विष्णुदत्त पौडेलले क्यान्सर रोग लाग्दैमा आत्तिनु नपर्ने बताउनुभयो । यद्यपि क्यान्सर रोग लागे समयमै उपचार गर्नुपर्ने र सचेत रहनुपर्नेमा उहाँको जोड थियो । विकसित देशमा सुर्तीजन्य पदार्थ उपभोगमा कमी भएतापनि नेपालजस्तो देशमा जनचेतनाको अभाव र साथीहरुको गलत संगतले गर्दा विद्यार्थीहरुले सानै उमेरदेखि सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको डाक्टर पौडेलले स्पष्ट पार्नुभयो ।
नेपालमा जनचेतनाको अभावले गर्दा धेरैजसो क्यान्सर रोगीहरु रोग गम्भिर अवस्थामा पुगेपछि मात्रै अस्पताल आइपुग्ने हुँदा उपचारको प्रभावकारिता कम हुने कुरा विज्ञको भनाइ छ । सुर्तीजन्य पदार्थकै कारणले गर्दा विभिन्न किसिमका रोगबाट मानिसहरु प्रभावित भएको जनाइएको छ ।
इपिएस स्कुलका प्रिन्सिपल प्रमिला सिंहले सुर्तीजन्य पदार्थ रोकथामको लागि विद्यालय स्तरबाटै अभियान सञ्चालन गर्नुपर्ने बताउनु भयो । क्यान्सर काउन्सिल नेपालले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेकोमा धन्यबाद दिँदै सिंहले आगामी दिन यस इपिएस स्कूलपनि सुर्तीजन्य पदार्थ रोकथामको लागि क्यान्सर काउन्सिल नेपालसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
‘सुर्तीजन्य पदार्थ रोकथामको लागि नागरिकस्तरबाट जुट्नुपर्छ’

प्रकाशित : मङ्गलबार, भदौ ३०, २०७७१७:५९