थारु भाषामा सांसद चौधरीले शपथ लिए

समाचार

लिभु संवाददाता
काठमाडौँ — कैलालीको टिकापुर घटनाको मुख्य अभियुक्त भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीले पुस १९ गते बिहीबार शपथ लिएका छन् । सिंहदरबारस्थित संसद्को कृषि समितिको हलमा सभामुख कृष्णबहादुर महराले चौधरीलाई शपथ गराएका हुन् । सांसद चौधरीले थारु भाषामा शपथ लिएका छन् ।

रेशम चौधरीले सांसदको शपथ लिएपछि छातीमा सांसदको लोगा देखाउँदै

फरार रहेकै अवस्थामा राष्ट्रिय जनता पार्टी (राजपा)बाट चुनाव लडेका उनी कैलाली १ बाट भारी मतले निर्वाचित भएका थिए । चुनाव जितेपछि उनले वारेसमार्फत् प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । तर, सर्वोच्चले रिट खारेज गरेपछि उनले जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए ।

राजपाले लामो समयदेखि चौधरीलाई सपथ खुवाउनुपर्ने माग गर्दै आएको तर, सरकारले त्यसलाई वेवास्ता गर्दै आएको थियो । राजपाले सत्ता गठबन्धन फिर्ता लिने चेतावनी दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा सभामुखले सांसदको शपथ खुवाएका हुन् । टीकापुर घटनाको मुख्य अभियुक्तका रुपमा उनीविरुद्ध जिल्ला अदालत कैलालीमा मुद्दा विचाराधीन छ ।

डिल्लीबजार सदरखोर रहेका चौधरीले ढाकाको कुर्था, टोपी, गलबन्दी र सेतो सुरुवाल लगाएर संसद् भवन प्रवेश गरेका थिए । शपथ कार्यक्रममा राजपाका नेताहरु तथा परिवारका सदस्यले गलाभरी माला, खादा र टीका लाइदिएका थिए । महन्थ ठाकुर, राजेन्द्र महतोलगायत राजपाका अन्य सांसदहरु उपस्थित थिए । साथै सांसदपत्नी श्रीमती रन्जिता श्रेष्ठ र छोरा उपस्थित थिए । सांसद चौधरीले छोटो धारणा राख्दै भने, ‘न्यायालयले पनि मलाई न्याय दिनेछ ।’ शपथपछि सांसद चौधरीलाई प्रहरीकै गाडीमा डिल्लीबजार कारागार लगिएका छन् ।

फोटो साभार – कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published.