वाम्बुले राई पहिचान ‘वाम्रास दिवस’ : एक महाउत्सव

विचार / ब्लग

गणेश वाम्बुले राई
तिमीलाई वर्षभरिमा सबैभन्दा खुशी कुन दिन लाग्छ ? भनेर कसैले सोधे भन्नैपर्छ– ‘मेरी आमाले अपार पीडा सहेर यो धरतीमा टेकाउनु भएको दिन रमाउँछ । यो दिन मलाई खुशी लाग्छ । आमालाई जति धन्यवाद दिंदा पनि कहिल्यै पुग्दैनझैं लाग्छ ।’

यस्तै हो, किरात वाम्बुले राईहरूको साझा सामाजिक संस्था वाम्बुले राई समाज, नेपाल (वाम्रास) स्थापना दिवस टुप्लुक्कै आइपुग्दैछ– मंसिर २० गते । एकजना वाम्बुले राई व्यक्तिको जन्मोत्सवभन्दा धेरै धेरै महत्वपूर्ण जन्मोत्सवको दिन हो वाम्रास जन्मोत्सव । त्यसैले मंसिर २० वाम्रास दिवस एक महाउत्सव हो । वाम्रास २०५४ साल मंसिर २० गते ललितपुर जिल्ला प्रशासन कार्यालयबाट दर्ताप्राप्त संस्था हो । जुन हामी यो वर्ष वाम्रास स्थापना दिवस एक ऐतिहासिक गाउँमा मनाउन गइरहेका छौं । नेपालको प्रजातान्त्रिक योद्धा एमपी, नेता, सांसद, माननीय मन्त्री, १९ पटक कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएका इतिहास पुरुष बलबहादुर राई र नेता गोपाल राईको जन्मथलो ओखलढुंगा मोली फस्कु गाउँ पुग्दैछौं । जनमानसमा चेतनाको विजारोपण गर्न सफल नेताद्वय बलबहादुर राई र गोपाल राई हामी माझ हुनुहुन्न, तर उहाँहरूको जन्मथलो त्यहीं छ । त्यो थलो पुग्न पाउनु आफैंमा गौरवको विषय हो । यही गौरवलाई साँचेर हामी वाम्रास दिवस त्यही थलोमा मनाउँन गइरहेका छौं ।

गत २०७५ मंसिर २० गते मानेभन्ज्याङ गाउँपालिकाको प्रांगण माथिल्लो टुंडिखेलमा ‘२०औं वाम्बुले राई भाषाको कविता गोष्ठी’ समापन हुनुअघि वडा नं.१ का वडाध्यक्ष राजकुमार रुम्दाली राईले २१औं वर्षको कविता गोष्ठी मोलीमा हुनुपर्छ र त्यो समारोह सम्पन्न गर्न वडाले पूर्ण सहयोग गर्नेछ भनेर सार्वजनिक घोषणा गर्नु भएको थियो । यसरी स्थानीय सरकारले हाम्रो उद्देश्य परिपूर्ति गर्न सघाउने प्रतिवद्धता ज्यादै सराहनीय पक्ष हो । यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं । मोलीमा वाम्रास संस्थाको उद्देश्य पूर्तिका निम्ति हामी उपस्थित हुनेछौं । वाम्बुले राई भाषा, साहित्य, संस्कृति, परम्पराको संरक्षण, संवद्र्धन प्रवद्र्धन अभियानको श्रृंखला जोड्न पुग्दैछौं । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको २२औं स्थापना दिवसको अवसरमा ‘२१औं वाम्बुले राई भाषाको कविता प्रतियोगिता÷गोष्ठी’ महत्वपूर्ण श्रृंखला हो ।

पहिलो कविता प्रतियोगिता २०५५ साल कात्तिक १ गते ओखलढुंगाको हिलेपानी गाउँस्थित श्री महादेवस्थान माध्यमिक विद्यालयको आँगनबाट आरम्भ भएको थियो । उतिखेर नेपाली भाषाका महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजन्तीको अवसरमा सुरु गरिएको थियो । तत्कालीन राजनीतिक सशस्त्र द्वन्द्वका कारण २०६० सालमा स्थगित भएको थियो । वाम्रास र लिब्जु–भुम्जु त्रैमासिकका आयोजनामा निरन्तर दशैं र तिहार वरिपरि कविता गोष्ठी गाउँ गाउँमा आयोजना गरिदैआएको थियो । वाम्रास महासचिव जीवन हाताचो राईको विशेष प्रस्तावमा कविता गोष्ठीलाई वाम्रास स्थापना दिवसको अवसरमा मनाउने निर्णयपछि १५औं वाम्बुले राई भाषाको कविता गोष्ठीदेखि मंसिर २० गते मनाउने गरिएको छ । कविता उत्सवमा बढी मात्रामा अधवैसे, युवा, तन्नेरी, बालबालिका पुस्ताको जमघट जम्ने गर्दछ ।

कविता गोष्ठीलाई विशेष बनाउन ज्येष्ठ नागरिक सम्मान पनि हुनुपर्छ भनेर वाम्रास संस्थापक कोषाध्यक्ष दिलकुमारी राईले प्रायोजन गर्ने प्रतिवद्धता जनाउनु भयो । त्यसैअनुसार १५औं कविता गोष्ठीको अवसरमा कार्यक्रम हुने वडाका ७० वर्षभन्दा माथि उमेरका अग्रजहरूलाई ‘वाम्रास ज्येष्ठ नागरिक सम्मान’ प्रदान गर्ने गरिएको छ । त्यसैगरी वरिष्ठ पत्रकार पुष्पहरि क्याम्पा राईले २०५५ सालमा स्थापना तथा प्रायोजन गर्नुभएको ‘लिब्जु–भुम्जु पुरस्कार’ कविता गोष्ठीकै अवसरमा प्रदान गरिदै आएको छ ।

त्यसैअनुसार यही २०७६ मंसिर २० गते ‘२१औं वाम्बुले राई भाषाको कविता प्रतियोगिता एवं वाम्रास ज्येष्ठ नागरिक सम्मान तथा लिब्जु–भुम्जु पुरस्कार वितरण समारोह’ मोली फस्कुमा सम्पन्न गर्दैछौं । वाम्रास केन्द्रीय अध्यक्ष गजुरधन राईको सभाध्यक्षता, प्रमुख अतिथि किरात राई प्रज्ञा परिषद्का कुलपति जयकुमार राई रहनु हुनेछ । राष्ट्रगानका रचनाकार व्याकुल माइला, मानेभन्ज्याङ गाउँपालिका प्रमुख मोतीराज राई, उपप्रमुख सबिता राईलगायतको विशेष आतिथ्यता रहने छ । हामीले वडापालिकाले उपलब्ध गराएको २२ जना वाम्बुले ज्येष्ठ नागरिकलाई सम्मान गर्नेछौं । कवि गगनबहादुर राई ‘लिब्जु–भुम्जु पुरस्कार–२०७५’ प्रदान गर्नेछौं । प्रतियोगी र अप्रतियोगी कविताहरू सुन्ने छौं । निर्णायक मण्डलले छानेका ५ जना उत्कृष्ट कविता र तिनका कविलाई पुरस्कृत गर्नेछौं । हाम्रा अग्रजहरूको सोंच, चिन्तन र हाम्रो साथबाट जन्मिएको संस्थाका माध्यमबाट पहिचान संरक्षण, संवद्र्धन, प्रवद्र्धन र पुस्तान्तरणको काममा जुटिरहने छौं ।

संस्थात रूपमा हामीले गरेको काम सामाजिक रुपान्तरणको सानो तर अर्थपूर्ण रहेको ठानेका छौं । तपाई देश–विदेशमा जो जहाँ रहनु भएको छ । वाम्बुले राई हुनुहुन्छ । वाम्बुले राईको कुलकुटुम्ब हुनुहुन्छ । नातागोता, इस्टमित्र हुनुहुन्छ । वाम्बुले राई भाषा, साहित्य, मुन्दुम संस्कार संस्कृति, परम्पराबारे केही काम भइरहेको छ भनेर जानकारी दिन पाउँदा ज्यादै खुशी लागेको छ । वाम्बुले भाषा बोल्न जान्नेले आफ्नो घरपरिवार, नातागोता, आफन्तसँग मातृभाषामै कुरा गर्नोस् । लेख्न पनि जान्नु हुन्छ भने जे लेख्न सक्नु हुन्छ लेखेर हामीलाई पठाउनोस्, छपाउँछौं । हाम्रो संस्थागत अभियानलाई बलियो बनाउन तपाईहरूको साथ, सहयोग (आर्थिक, बौद्धिक, भौतिक, नैतिक), समर्थन निरन्तर पाइरहौं भनेर अनुरोध गर्न चाहन्छौं । जय वाम्रास ।

(लेखक वाम्रास संस्थापक सदस्य, वर्तमान उपाध्यक्ष तथा लिब्जु–भुम्जु त्रैमासिकका सम्पादक हुन् ।)

Leave a Reply

Your email address will not be published.