वाम्बुले भाषाको गीत लेख्नुहोस्, पुरस्कार जित्नुहोस्

लिभु संवाददाता
धरान – किरात वाम्बुले राई भाषाको श्रीवृद्धिमा नयाँ आयाम थप्ने उद्देश्यले वाम्बुले भाषा गीत लेखन प्रतियोगिता आयोजना गरिएको छ । वाम्बुले राई समाज, नेपाल (वाम्रास) जिल्ला कार्यसमिति सुनसरीले ‘खुल्ला किरात वाम्बुले राई मातृभाषा गीत लेखन प्रतियोगिता–२०७७’ को आयोजना गरेको हो ।


प्रतिस्पर्धी सर्जकले आगामी चैत मसान्तभित्र रचना पठाइसक्नु पर्ने वाम्रास सुनसरीका सचिव तथा गीत लेखन प्रतियोगिता कार्यक्रम संयोजक लाखमान राईले जानकारी दिनु भएको हो । यसअघि यही फागुन २० गतेभित्र प्रतियोगी रचना पठाउन भनिएको थियो ।


‘खुल्ला किरात वाम्बुले राई मातृभाषाको गीत लेखन प्रतियोगिता–२०७७ मा देश–विदेशमा रहनु हुने सबै वाम्बुले राईहरूले सहभागिता जनाई यस प्रतियोगितालाई सफल पारी दिनु हुन हार्दिक अपिल गर्दछौं,’ वाम्रास सुनसरीले जारी गरेको विज्ञप्तिमा छ । ‘हामीले वाम्बुले राईमात्र भने पनि वाम्बुले राई भाषा बोल्न, लेख्न, पढ्न सक्ने जो कोही सहभागी हुनसक्छन्,’ संयोजक राई भन्नुभयो, ‘यत्ति हो कि हामीले दिएको मापदण्डभित्र हुनुपर्छ ।’


वाम्बुले भाषाको गीति रचना तीन विषयमा केन्द्रित गरिएको छ । ‘किरात वाम्बुले राईहरूको तीन चुलाको महत्व’, ‘किरात वाम्बुले राईहरूको उत्पत्ति सांस्कृतिक महत्व’ र ‘वाम्बुले राईहरूको ढ्वाङ्कुमो सांस्कृतिक महत्व’ विषय राखिएका छन् । रचना विशुद्ध वाम्बुले बोलीचाली, सांस्कृतिक र मुन्दुमी शब्दमा हुनुपर्नेछ । गीत चार अन्तरामा हुनुपर्ने, सरल, सरस र स्वभाविक तथा अन्तरा मिलेको हुनुपर्ने भनिएको छ । प्रतियोगितामा विजयी स्रष्टालाई आकर्षक नदग पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

प्रकाशित : बिहिबार, फागुन २७, २०७७०५:२६

प्राकृतिक स्रोत उपयोग गर्दा परम्परागत कानुनसमेत ख्याल राख्न आदिवासी समुदायको माग