विमान दुर्घटना ४९ को मृत्यु, २२ घाइते

मुख्य समाचार

लिभु संवाददाता


काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा यूएस बंगला विमान दुर्घटनाग्रस्त हुँदा ४९ जनाको मृत्यु भएको छ । बाँकी २२ जना घाइते भएका छन् । विमानमा चालक दलका ४ सदस्य सहित ७१ जना यात्रारत थिए । जसमा ३७ पुरुष, दुई बच्चा र बाँकी महिला रहेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । त्यसमध्ये ३३ जना नेपाली रहेको जनाइएको छ । यद्यपि यात्रुको संख्या यकिन हुन बाँकी छ ।

बंगलादेशको ढाकाबाट काठमाडौं आएको ड्यास–८ विमान सोमबार (२०७४ फागुन २८ गते) दिउँसो २ बजेर १८ मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएको हो । दुर्घटनालगत्तै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, अग्नि नियन्त्रकलगायत तदारुकता साथ उद्दार गरेका थिए । घाइतेहरुलाई राजधानी काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले यूएस बंगला विमानले अवतरण गर्ने बेलमा नै ‘मिस अप्रोच’ गरेकोले दुर्घटना भएको बताउनु भयो । विमानस्थलमा अवतरणको क्रममा कल साइन एस२ एयुजी भएको यूएस बंगलाको विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको थियो । यो विमानको नियमित उडानमा थियो ।

प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त
प्रधामन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमास्थलमा सोमबार भएको यूएस बंगला विमान दुर्घटनाको घटनाप्रति बंगालदेशका प्रधानमन्त्री शेख हसिनावाजेद समक्ष दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आफ्ना बंगलदेशी समकक्षीसँग टेलिफोन सम्पर्क गरी दुर्घटनामा भएको मानवीय र भौतिक क्षतिप्रति नेपाल सरकारकोतर्फबाट दुःख ब्यक्त गर्नुभएको हो । साथै दुर्घट्नापछि तत्काल बसेको मन्त्रिपरिषद्को बैठकले छानविन आयोग गठन गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published.